जनकपुरधाम, १३ माघ । जनकपुरधाममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ संकटमोचन हनुमान मन्दिरमा पूजापाठ गरेका छन् ।

मंगलबार साँझ रंगभूमि मैदानको छेउमा रहेको संकटमोचन मन्दिर पुगेर उनले विशेष पूजाआजा गरेका हुन् ।

यसअघि आइतबार साँझ जनकपुरधाम आएका पूर्वराजाले सोमबार जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेका थिए ।

त्यसक्रममा उनले जानकी मन्दिरबाट पदयात्रा गर्दै करिब पाँच सय मिटर दूरीमा रहेको राम मन्दिर र राजदेवी मन्दिरमा समेत पूजाआजा गरेका थिए ।

धार्मिक भ्रमणका क्रममा विभिन्न मन्दिरमा पूजापाठ गर्दै आएका पूर्वराजाको जनकपुरधाम बसाइलाई स्थानीयवासीले चासोका साथ हेरेका छन् ।