सप्तरी, १३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातिएको छ ।

यसपटक एउटै परिवारका काका–भतिजा फरक फरक राजनीतिक दलबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा अझै रोचक र चासोको विषय बनेको छ ।

डाक्नेश्वरी नगरपालिका–५ निवासी पूर्व संविधानसभा सदस्य ताराकान्त चौधरी र उनका भतिजा अमरकान्त चौधरी यस निर्वाचनमा आमनेसामने प्रतिस्पर्धामा उत्रिएका छन् ।

ताराकान्त नेकपा एमालेबाट उम्मेदवार बनेका छन् भने अमरकान्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनावी मैदानमा छन् ।

ताराकान्त र अमरकान्तबीचको प्रतिस्पर्धा केवल राजनीतिक मात्र नभई पारिवारिक सम्बन्धसँग पनि जोडिएको छ । अमरकान्त ताराकान्तका जेठा दाजु स्वर्गीय चन्द्रकान्त चौधरीका छोरा हुन् । चन्द्रकान्तको केही समयअघि निधन भएपछि अमरकान्तले पिताको क्रियाकर्मकै बीच उम्मेदवारी दर्ता गराएका थिए ।

अमरकान्त आफू नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै ‘नयाँ नेपाल निर्माण’का लागि उम्मेदवार बनेको बताउँछन् । ‘राजनीतिमा नयाँ सोच र नयाँ ऊर्जा आवश्यक छ,’ उनी भन्छन् ।

यता ताराकान्त भने विगतदेखि नै जनतासँगको सम्बन्ध र विकासका मुद्दालाई आधार बनाएर आफू विजयी हुने दाबी गर्छन् । पारिवारिक प्रतिस्पर्धाले आफूलाई असर नगर्ने उनको भनाइ छ ।

चौधरी परिवार सप्तरीकै दानी र समाजसेवी परिवारका रूपमा चिनिन्छ । उनीहरूले दान गरेका जग्गामा पातो बजार, विद्यालय, स्वास्थ्य चौकी, कृषि भवन र डाक्नेश्वरी नगरपालिकाको भवन जस्ता संरचना निर्माण भएका छन् । यसले स्थानीयस्तरमा परिवारको सामाजिक प्रभाव बलियो बनाएको छ ।

यही सामाजिक छविलाई चुनावी अभियानमा दुबै उम्मेदवारले आफ्नो पक्षमा प्रयोग गरिरहेका छन् ।

सप्तरी–३ मा काका–भतिजाको प्रतिस्पर्धामात्र नभई अन्य प्रभावशाली नेताहरूको उपस्थितिले पनि चुनावलाई चासोपूर्ण बनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि यही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट अरुण कुमार साह, जनमत पार्टीबाट सुरेन्द्र शर्मा, रास्वपाबाट उम्देश्वर साह, उज्यालो नेपालबाट प्रमेश्वर लाल साह, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्र कुमार मण्डल लगायत गरी कुल २२ जना उम्मेदवार चुनावी दौडमा छन् ।

धेरै दल र उम्मेदवारको सहभागिताले मत विभाजन हुने सम्भावना बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

सप्तरी–३ को चुनावी इतिहास हेर्दा चौधरी परिवारको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । ताराकान्त चौधरी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

२०७४ सालको निर्वाचनमा भने उनका दाजु चन्द्रकान्त चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेर विजयी भएका थिए । उक्त चुनावमा चन्द्रकान्तले २२ हजार ५ सय ८४ मत ल्याउँदा ताराकान्त ११ हजार १ सय ८८ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए ।

ताराकान्तका अनुसार दाजुले चुनाव नलड्ने बताए पनि अन्ततः उनीविरुद्ध उम्मेदवारी दिएका थिए । ‘त्यतिबेला पनि परिवारभित्रै प्रतिस्पर्धा भयो, अहिले फेरि भतिजासँग भइरहेको छ,’ उनी भन्छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका दिनेश कुमार यादव २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका थिए । उक्त चुनावमा ताराकान्त २२ हजार ३ सय मतसहित दोस्रो स्थानमा थिए ।

स्थानीय मतदाताहरू विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सिंचाइलाई प्रमुख मुद्दाका रूपमा उठाइरहेका छन् । विशेषगरी युवापुस्ताले परिवर्तन र पारदर्शितालाई महत्व दिन थालेको देखिन्छ ।

रास्वपाका उम्मेदवार अमरकान्तले सुशासन र युवाको सहभागितालाई मुख्य एजेन्डा बनाएका छन् भने एमालेका ताराकान्तले अनुभव र स्थायित्वलाई आफ्नो बलियो पक्षका रूपमा प्रस्तुत गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसको अधिकार र पहिचानलाई प्रमुख मुद्दा बनाएका छन् ।

पुराना अनुहार, नयाँ उम्मेदवार, पारिवारिक प्रतिस्पर्धा र ठूला दलका नेताको सहभागिताले सप्तरी–३ को चुनावी प्रतिस्पर्धा यसपटक विशेष चासोको केन्द्र बनेको छ । मतदाताले कसलाई विश्वास गर्छन् भन्ने प्रश्नको उत्तर फागुन २१ गतेपछि मात्रै खुल्नेछ ।

तर, अहिलेको अवस्था हेर्दा सप्तरी–३ को चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई पुस्ता, विचार र नेतृत्वबीचको टकरावको प्रतीक बनेको छ । यही कारणले यहाँको चुनावलाई देशभरका राजनीतिक वृत्तले नजिकबाट हेरिरहेका छन् ।