सर्लाही–४ मा गगन थापा : ‘स्थानीय भाषा रटेर नाटक गर्दिनँ’

सर्लाही, १३ माघ । नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापाले सर्लाहीका जनतासँग केवल मत माग्न मात्र नभई दीर्घकालीन सम्बन्ध गाँस्न आएको बताएका छन् ।
मंगलबार बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले चुनावका बेला मात्र देखिने ‘पाहुना नेता’ बन्न नचाहेको स्पष्ट पारे ।
उनले केही नेताहरू चुनावको समयमा मात्र आएर फोटो खिच्ने, औपचारिकता निभाउने र पछि हराउने प्रवृत्तिबाट आफू अलग रहेको दाबी गरे ।
स्थानीय भाषाका केही शब्द बोल्न सुझाव आए पनि केवल ताली बटुल्न ‘नाटक’ नगर्ने उनको भनाइ थियो ।
‘रातभरि रटेर केही शब्द बोलेको जस्तो गर्न चाहन्नँ,’ थापाले भने, ‘जनप्रतिनिधि बनेपछि समय लगाएर यहाँको भाषा सिक्छु, सबैलाई नामले चिन्छु र आत्मीय रूपमा बोल्न सक्ने बनाउँछु ।’
काठमाडौंमा सांसद रहँदा गैरनेवार भए पनि नेवार समुदायको संस्कृति र पर्वमा घुलमिल भएर विश्वास जितेको अनुभव सुनाउँदै उनले सर्लाहीमा पनि त्यस्तै सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए ।
आफू नौटंकी र चटके शैलीमा राजनीति नगर्ने बताउँदै थापाले सर्लाही–४ का जनताको साथी, भाइ र छोराका रूपमा काम गर्ने संकल्प व्यक्त गरे ।
उनले तीन दिनसम्म क्षेत्रमै बस्ने, पार्टीको कामका लागि काठमाडौं गएर पुनः फर्कने र सकेसम्म जनताको घरदैलोमा समय बिताउने योजना पनि सार्वजनिक गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

