जनकपुरधाम, १३ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि खटाइने निर्वाचन प्रहरी भर्ना तथा छनोट प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ अनुसार छनोट भएका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गरिएको हो ।

प्रकाशित नामावलीअनुसार नेपाल प्रहरीतर्फ ४ हजार १ सय ४२ जना उम्मेदवार मुख्य सूचीमा परेका छन् । उनीहरूलाई माघ १३ गते दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

उपस्थित हुँदा प्रवेशपत्र, नागरिकताको सक्कल प्रतिलिपि तथा पासपोर्ट साइजका चार प्रति फोटोसहित भद्र पोशाकमा आउन आग्रह गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल नेपालतर्फ ३ सय ८५ जना उम्मेदवार मुख्य सूचीमा समावेश भएका छन् । उनीहरूलाई माघ १४ गते बिहान ९ बजे सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण मुख्यालय धनुषामा उपस्थित हुन भनिएको छ ।

कार्यालयका अनुसार बैकल्पिक सूचीमा परेका उम्मेदवारहरूलाई आवश्यकता अनुसार पछि जानकारी गराइनेछ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

छनोट भएका उम्मेदवारहरूलाई तोकिएको मितिमा उपस्थित नभए नियुक्ति प्रक्रियामा समस्या आउन सक्ने भएकाले समयमै उपस्थित हुन आग्रह गरिएको छ ।

थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा तथा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण मुख्यालयसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।