बारा, ११ माघ । बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरुविरुद्ध बाराको साविक भतौडा गाउँपालिका वडा नं. २ को कित्ता नं. २८८ र २९० को जग्गा खरिद बिक्री गर्दा गलत लिखत तयार पारेर राजस्व रकम हिनामिना गरेको आरोप लागेको छ ।

तत्कालीन वडा अध्यक्ष मंसुरसहित तत्कालीन वडा सचिव रघुप्रसाद गोढीविरुद्ध आपसी मिलेमतोमा लाभ लिएको र नेपाल सरकार तथा सार्वजनिक संस्थालाई ६ लाख ९४ हजार ६५१ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको आरोप छ ।

जग्गा बिक्रीकर्ता रौफ मियाले ३ लाख ७७ हजार रुपैयाँ र जग्गा खरिदकर्ता हिरालाल प्रसादले ३ लाख १७ हजार ६५१ रुपैयाँ हिनामिनामा संलग्न रहेको आरोप आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दोषी ठहर भएमा सम्बन्धित व्यक्तिहरूलाई कैद र जरिवाना हुने मागसहित आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।