अनुभवी नेता महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम, ११ माघ । केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।
अन्य कलस्टरतर्फको प्रतिस्पर्धामा उनले ७ हजार ७२५ मतभार ल्याएर स्पष्ट विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेलले १ हजार ८०५ मतभार पाएका छन् ।
ठाकुर यस चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए । उनी प्रतिनिधि सभाका निर्वतमान सदस्य पनि हुन् ।
महोत्तरीको पिपरा गाउँपालिका एकरहिया घर भएका ठाकुरलाई मधेश राजनीतिका सबैभन्दा अनुभवी र उतार–चढावपूर्ण यात्राका साक्षी नेता मानिन्छ ।
उनी २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधि सभा सदस्यका रूपमा महोत्तरी क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधि सभामा दोस्रो पटक प्रतिस्पर्धा गरेका ठाकुर यसपटक राष्ट्रिय सभामा पुगेका छन् । तर, प्रतिनिधिसभामा अन्तिम पटक मत मागेपछि उनी पुन: राष्ट्रिय सभा सदस्यमा पुगेपछि राजनीतिक आलोचनाले पनि उनलाई पदीय लोभी नेताको रूपमा हाइलाइट गरेको छ ।
कमजोर शारीरिक अवस्थाका कारण उनी आफैं उठबस र हिँडडुल गर्न सक्दैनन् । विद्यार्थी कालमै नेपाली कांग्रेस निकट राजनीति थालेका ठाकुरले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जेल सजाय भोगेका थिए । २०३६ सालको बहुदलीय आन्दोलन र २०४६ सालको जनआन्दोलनमा उनको सक्रिय भूमिका रहेको थियो ।
२०४८ सालमा नेपाली कांग्रेसबाट सर्लाही क्षेत्र नं. ५ बाट पहिलो पटक चुनाव जित्दै उनी संसदीय राजनीतिमा प्रवेश गरे । त्यसै कार्यकालमा उनी उपसभामुख बनेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा पुन: सर्लाहीबाट निर्वाचित भएपछि मन्त्री पदमा पनि रहे ।
नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहिसकेका ठाकुरले कृषि, कानुन, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाले । तर, २०६४ सालमा कांग्रेस त्याग्दै उनले आफ्नै नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे ।
पहिलो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. ४ बाट चुनाव लडेका ठाकुर मधेशी जनअधिकार फोरमका उम्मेदवारसँग पराजित भए । त्यसपछि उनी मनोनित संविधानसभा सदस्य बने । दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि उनी कांग्रेसका उम्मेदवारसँग हार भोगे ।
संविधान घोषणाको समयको ६ महिनाको तेस्रो मधेश आन्दोलनमा ठाकुरले मधेशवादी दलहरूसँग मिलेर संयुक्त मधेशी मोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरे । त्यसपछि मधेशमा मधेशवादी शक्तिप्रति उनका पक्षमा जनसमर्थन बढ्यो ।
२०७४ को निर्वाचनअघि उनले ६ वटा दल एकीकृत गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरे । त्यसमा तमलोपा, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी समाहित थिए ।
२०७७ मा राजपा र तत्कालीन संघीय समाजवादी पार्टीले एकताबद्ध भई जनता समाजवादी पार्टी (जसपा) नेपाल बने । तर, डेढ वर्षमै २०७८ मा पार्टी विभाजन हुँदा ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । पछिल्लो समय फेरि जसपामा समाहित हुँदै उनी राष्ट्रिय राजनीतिमा पुन: केन्द्रमा आएका छन् ।
राजनीतिक यात्रामा उपप्रधानमन्त्री बन्ने अवसर पटक पटक आए पनि उनले आफूभन्दा अन्य नेतालाई अघि सार्ने रणनीति अपनाए । राष्ट्रपतिको उम्मेदवारका रूपमा पनि उनको नाम चर्चामा रह्यो । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गर्दा कांग्रेसले उनलाई प्रधानमन्त्री प्रस्ताव गरेको थियो ।
यद्यपि उनले ओलीसँग सहकार्य गरे । त्यसको परिणामस्वरूप त्यस सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्री बने । पछि सर्वोच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए ।
ठाकुरमाथि परिवारवादको आरोप पनि लाग्दै आएको छ । सम्धिनीलाई संविधानसभा सदस्य बनाएको, छोरीलाई समानुपातिकतर्फ उम्मेदवार बनाएको र सम्धिलाई प्रदेश प्रमुख बनाएको विषयमा आलोचना हुँदै आएको छ । यसपटक उनले महोत्तरी क्षेत्र नं. ३ मा आफ्नी छोरीलाई उम्मेदवार उठाएका छन् ।
लामो राजनीतिक अनुभव, निर्णायक क्षणमा खेलेको भूमिका र निरन्तर विवादबीच पनि महन्थ ठाकुर मधेश र राष्ट्रिय राजनीतिका प्रभावशाली पात्रका रूपमा कायम छन् ।
८३ वर्षको उमेरमा पनि उनी राष्ट्रिय सभा सदस्य बन्ने महत्वाकांक्षा र सक्रियता प्रदर्शन गर्दै आएका छन् । यसले उनलाई राजनीतिमा एक स्थायी र निर्णायक नेता बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

