सिरहा, ११ माघ । सिरहाको कर्जन्हा नगरपालिका–१० स्थित सार्वजनिक जग्गाको विवादले आइतबार एक जनाको ज्यान लिएको छ । मृतक ५० वर्षीय अजमोदिन सेख रहेका छन् ।

प्रहरीका अनुसार विवाद जग्गामा बनाइएको संरचना सम्बन्धी थियो । सोही ठाउँका अख्तर शेखले सार्वजनिक बाटोमा घर बनाइरहेका थिए । त्यसलाई ऐलानी जग्गा रहेको भन्दै अदालतमा रिट दायर गरिएको थियो ।

अदालतले पनि संरचना हटाउन आदेश दिएको थियो । निर्देशन कार्यान्वयनका लागि प्रहरी पुगेपछि घर हटाउने काम सकिँदा दुवै पक्षबीच भएको धकेलाधकेलका क्रममा अजमोदिन सेख घाइते भएका थिए ।

उपचारका लागि लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । सार्वजनिक जग्गाको संरचना हटाउने सहमति हुँदा पनि शेख अख्तरले संरचना नहटाएपछि विवाद चर्किएको थियो ।

घटनापछि स्थानीयले साँझको समयमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले दुवै पक्षसँग छलफल गरेर मार्ग खुलाएको जनाएको छ ।