चुनावकै मुखमा दर्जनौँ नेता कार्यकर्ताले रामुपा छाडे

जनकपुरधाम, ११ माघ । प्रतिनिधिसभा निर्वाचन आउन ३९ दिन बाँकी छँदा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा ठूलो फुटको घटना देखिएको छ ।
पार्टीका केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य र धनुषा जिल्ला कार्यसमितिका सदस्यसहित दर्जनौँ नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेका छन् ।
आइतबार जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य गरी १२ जना, साथै धनुषा जिल्ला कार्यसमितिका १० जना सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
विज्ञप्तिमा नेता कार्यकर्ताहरूले वर्तमान नेपाल गम्भीर राजनीतिक सङ्कट र दिशाहीनतामा फसेको स्वीकार गर्दै राजनीतिक दलगत सङ्कीर्णता, अवसरवाद र व्यक्ति(केन्द्रितताको) कारण मुलुक र जनतालाई निराशातर्फ धकेलेको निष्कर्ष निकालेको उल्लेख छ ।
पार्टी छाड्ने नेताहरूले अब यथास्थितिवादी, विभाजनकारी र जनआकांक्षाविरोधी राजनीतिबाट अलग भएर देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन् ।
नयाँ राजनीतिक यात्राबारे केही दिनभित्र औपचारिक रूपमा जानकारी सार्वजनिक गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

