जनकपुरधाम, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा ९३.६८ प्रतिशत मतदान भएको छ ।

आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको मतदानमा कुल २३ जनाले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार मधेश प्रदेशसभाका एक सय सदस्यमध्ये ९९ जनाले मतदान गरेका छन् भने स्थानीय तहका तर्फबाट २ सय ४२ जनाले मत खसाएका छन् ।

प्रदेशसभा तर्फ नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारीले मतदान नगरेको उनले जानकारी दिए ।

निर्वाचन प्रशासनका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन सबै पक्षको सहयोग रहेको भन्दै निर्वाचन कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।