जनकपुरधाम, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा भएको मतदानमा जनप्रतिनिधिकै ठूलो संख्यामा मत बदर भएको छ ।

आइतबार विभिन्न चार समूहका लागि सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरे पनि चारै समूहमा मत बदर भएको हो ।

निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार दलित समूहमा ८, अपांगता/अल्पसंख्यक समूहमा ६, अन्य समूहमा १३ र महिला समूहमा १७ मत बदर भएको छ । यसरी कुल ४४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

दलित समूहमा एक जना प्रदेशसभा सदस्य र सात जना स्थानीय तहका प्रमुख–उपप्रमुखको मत बदर भएको छ । यस्तै, अपांगता/अल्पसंख्यक समूहमा छ जना स्थानीय तहका प्रमुख–उपप्रमुखको मत बदर भएको छ ।

महिला समूहमा भने एक जना प्रदेशसभा सदस्य र १६ जना स्थानीय तहका प्रमुख–उपप्रमुखको मत बदर भएको जानकारी दिइएको छ ।

मधेश प्रदेशमा कुल १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहेका थिए । तीमध्ये ९९ जना प्रदेशसभा सदस्य र २४२ जना स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरेका थिए ।

एक जना प्रदेशसभा सदस्य र २२ जना स्थानीय तहका प्रमुख–उपप्रमुख भने मतदानमा सहभागी भएका थिएनन् ।