जनकपुरधाम, ११ माघ । मधेश प्रदेशबाट राष्ट्रियसभाका चार सदस्य चयनका लागि आइतबार बिहान ९:०० बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचनलाई व्यवस्थित, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रशासनले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार यस निर्वाचनमा चार सिटका लागि कुल ११ जना उम्मेदवार मैदानमा छन् ।

कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनतर्फ अल्पसंख्यक तथा दलित समूहबाट कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान, अन्य समूहबाट जसपा नेपालका संरक्षक महन्थ ठाकुर तथा महिलातर्फ एमालेकी रेखा झा उम्मेदवार रहेका छन् ।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट शम्भु पासवान, लक्ष्मण पौडेल, रामानन्द प्रसाद र समी अग्रवाल उम्मेदवार बनेका छन् । जसपा नेपालबाट दलित, महिला तथा अल्पसंख्यक समूहमा चमेली देवी दास, चन्द्रकला साह र शैलेश चौधरीको उम्मेदवारी परे पनि जसपा नेपाल र लोसपाबीच एकीकरणपछि ती उम्मेदवारी निष्क्रिय बनाउने सहमति भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा मधेश प्रदेशका १०७ प्रदेशसभा सदस्यमध्ये १०० जना तथा १३६ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये २६४ जना गरी कुल ३६४ मतदाता सहभागी हुनेछन् ।

प्रदेशसभा सदस्यहरूमध्ये तीन जना निलम्बनमा परेका र चार जनाले राजीनामा दिएकाले उनीहरू मतदान प्रक्रियामा सहभागी हुन पाउने छैनन् । त्यसैगरी, निलम्बनमा रहेका स्थानीय तहका पदाधिकारीहरू पनि मतदानमा सहभागी नहुने जनाइएको छ ।

निर्वाचनलाई मर्यादित, निष्पक्ष तथा विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास गरिएको छ ।