वीरगञ्जमा ऐतिहासिक ‘रेलवे म्युजियम’ निर्माणको तयारी तीव्र

पर्सा, १० माघ । वीरगञ्ज महानगरपालिकाले नेपालमा रेल सेवाको ऐतिहासिक पहिचान जोगाउने उद्देश्यले ‘रेलवे म्युजियम’ निर्माणको प्रक्रिया अघि बढाएको छ ।
बीपी उद्यान नजिक रहेको सरकारी जग्गामा म्युजियम निर्माणका लागि प्रारम्भिक चरणअन्तर्गत सरसफाइ तथा संरचना हटाउने काम सुरु गरिएको छ ।
महानगरपालिकाको चालू आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा नगरप्रमुख राजेशमान सिंहले ‘रेलवे म्युजियम’ निर्माण गर्ने घोषणा गरेका थिए ।
वीरगञ्जबाटै सुरु भएको रक्सौल–अमलेखगञ्ज रेल सेवाको सय वर्ष पूरा भएको अवसर पारेर पुराना रेल्वे संरचना, उपकरण तथा ऐतिहासिक सामग्रीलाई संरक्षण गर्दै म्युजियम स्थापना गर्ने योजना अघि सारिएको हो ।
यस क्रममा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको क्षेत्रमा रहेका झाडी, अनावश्यक रुख तथा फोहर हटाई वातावरण सफा बनाइएको महानगरले जनाएको छ । म्युजियम निर्माणका लागि उपयुक्त वातावरण तयार पार्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
नगरप्रमुख सिंहले रेलवे म्युजियम वीरगञ्जको पहिचान र इतिहाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताए । ‘नेपालमा रेल सेवाको सुरुवात यहीँबाट भएको तथ्य भावी पुस्तालाई जानकारी गराउन म्युजियम आवश्यक छ,’ उनले भने ।
महानगरपालिकाका अनुसार आगामी दिनमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा निर्माण कार्य अघि बढाइनेछ ।
म्युजियम सञ्चालनमा आएपछि पर्यटकीय आकर्षण बढ्ने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
स्थानीय बासिन्दाले पनि ऐतिहासिक सम्पदाको संरक्षण हुने भन्दै महानगरको यस पहललाई सकारात्मक रूपमा लिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

