भजन कीर्तनसहित सरस्वती प्रतिमाको विसर्जन

जनकपुरधाम, १० माघ । वसन्त पञ्चमीको अवसरमा देशभर श्रद्धा र उत्साहका साथ सरस्वती पूजा सम्पन्न भएपछि विभिन्न स्थानमा सरस्वती प्रतिमाको विसर्जन गरिएको छ ।
जनकपुरधाममा पनि शनिबार विभिन्न विद्यालय, कलेज तथा प्रशिक्षण केन्द्रहरूले पूजा सम्पन्न गरी प्रतिमा विसर्जन गरेका छन् ।
तर, पछिल्लो समय सरस्वती प्रतिमा विसर्जनका क्रममा मर्यादा र धार्मिक आस्थाविपरीत गतिविधि बढ्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
विशेषगरी केही स्थानमा विद्यार्थीहरू भजन–कीर्तनको साटो अश्लील भोजपुरी गीतमा झुमिएको दृश्य देखिनु परम्परा र संस्कृतिविपरीत भएको स्थानीयको गुनासो छ ।
हिन्दु धर्मअनुसार पूजा तथा विसर्जन शान्त वातावरणमा श्रद्धा र भक्ति भावका साथ गर्नुपर्ने मान्यता रहँदै आएको छ । तर, जनकपुरधामका विभिन्न चोक तथा सार्वजनिक स्थानमा गरिएको विसर्जन कार्यक्रममा उक्त परम्परा कमजोर बन्दै गएको देखिएको छ ।
यद्यपि, केही शैक्षिक संस्थाहरूले अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् । जनकपुरधामस्थित नेशनल कम्प्युटर ट्रेनिङ सेन्टरका विद्यार्थीहरूले भजन–कीर्तन गर्दै शान्तिपूर्ण रूपमा सरस्वती प्रतिमाको विसर्जन गरेका छन् ।
विसर्जन कार्यक्रममा विद्यार्थीहरूको उत्साह र सहभागिता उल्लेखनीय रहेको थियो । ट्रेनिङ सेन्टरका सञ्चालक अजय रौनियारले धार्मिक संस्कृतिको सम्मान गर्दै भजन–कीर्तनसहित विसर्जन गर्दा पनि उत्साहमा कुनै कमी नआउने बताए । उनले विगत वर्षहरूमा पनि यसै शैलीमा कार्यक्रम गर्दै आएको जानकारी दिए ।
स्थानीय बासिन्दा तथा अभिभावकहरूले पनि यस्ता सकारात्मक अभ्यासले धार्मिक तथा सांस्कृतिक मूल्य संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनीहरूले अन्य संस्थाहरूले समेत यस्ता अनुकरणीय कार्यक्रमबाट प्रेरणा लिनुपर्नेमा जोड दिएका छन् ।
सरस्वती पूजा तथा विसर्जनलाई मर्यादित, शान्त र संस्कृतिमैत्री बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

