जनकपुरधाम, १० माघ । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधामस्थित भानु चोक शाखाले विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।

शाखा प्रबन्धक रञ्जिता झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले साना तथा मध्यम व्यवसायीहरूसँग अझ प्रभावकारी सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनले साना ग्राहकहरू बैंकिङ सेवाप्रति अझै डराउने अवस्था रहेको तथा कर्जा प्रक्रियामा जटिलता हुने गरेको गुनासो आइरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि बैंक र कर्मचारीबीच समन्वय आवश्यक रहेको बताए ।

अध्यक्ष भण्डारीले शाखाको नाममा ‘जनकपुरधाम’ समावेश गर्नुपर्ने मागसमेत अघि सारे । यस विषयमा उद्योग वाणिज्य संघले आवश्यक पहल र समन्वय गर्न तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक रञ्जिता झाले बैंक प्रविधिको प्रयोगमा थप सशक्त बन्दै गएको बताइन् । साना ग्राहक बैंकमा आउन हिच्किचाउने भन्ने आरोप अस्वीकार गर्दै उनले बैंकमा साना ग्राहक तथा बायोमेट्रिक प्रणाली प्रयोग गर्ने सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको जानकारी दिइन् ।

बैंकले शुद्ध बैंकिङ सेवाको नीतिअनुसार सेवा प्रवाह गरिरहेको उनको भनाइ थियो ।

वार्षिकोत्सव समारोहका अवसरमा बैंकका उत्कृष्ट ग्राहकहरू एभरेष्ट सुगर एण्ड केमिकल लिमिटेड, राष्ट्रिय परीक्षा बोर्ड जनकपुरधाम, रामनरेश यादव, यशवन्त सिंह र प्रियंका यादवलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक, उद्योगी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले आगामी दिनमा सेवाग्राहीमैत्री सेवा विस्तार गर्दै वित्तीय पहुँच अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।