मधेशमा राष्ट्रियसभा निर्वाचन, चार सिटका लागि ११ उम्मेदवार मैदानमा

जनकपुरधाम, १० माघ । मधेश प्रदेशबाट राष्ट्रियसभाका चार सदस्य चयनका लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रशासनले आवश्यक सबै प्रबन्ध मिलाइसकेको जनाएको छ ।
जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले दुवै मतदान केन्द्रमा अधिकृत खटाइसकिएको र उनीहरूले निर्वाचन सामग्री तथा मतपत्रसमेत बुझिसकेको जानकारी दिए ।
यस निर्वाचनमा चार सिटका लागि कुल ११ जना उम्मेदवार मैदानमा रहेका छन् । कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनतर्फ अल्पसंख्यक र दलित समूहबाट कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान, अन्य समूहबाट जसपा नेपालका संरक्षक महन्थ ठाकुर तथा महिलातर्फ एमालेकी रेखा झा उम्मेदवार छन् ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट शम्भु पासवान, लक्ष्मण पौडेल, रामानन्द प्रसाद र समी अग्रवाल उम्मेदवार बनेका छन् । जसपा नेपालबाट दलित, महिला र अल्पसंख्यक समूहमा चमेली देवी दास, चन्द्रकला साह र शैलेश चौधरीको उम्मेदवारी परे पनि जसपा नेपाल र लोसपाको एकीकरणपछि ती उम्मेदवारको उम्मेदवारी निष्क्रिय पार्ने सहमति भएको छ ।
निर्वाचनमा मधेश प्रदेशका १०७ प्रदेशसभा सदस्यमध्ये १०० जना तथा १३६ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये २६४ जना गरी कुल ३६४ मतदाता सहभागी हुनेछन् ।
तीन जना प्रदेशसभा सदस्य निलम्बनमा परेका र चार जनाले राजीनामा दिएकाले उनीहरू मतदान प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
त्यस्तै, निलम्बनमा रहेका स्थानीय तहका पदाधिकारीहरू पनि मतदानमा सहभागी नहुने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको र सम्पूर्ण तयारी पूरा भएको प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

