धनुषाका अधिकांश मतदानस्थल अति संवेदनशील

जनकपुरधाम, १० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषा जिल्लाका अधिकांश मतदानस्थललाई अति संवेदनशील श्रेणीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ वटा अति संवेदनशील घोषित गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले सुरक्षा निकायले विभिन्न मापदण्डका आधारमा मतदानस्थलको मूल्याङ्कन गरी वर्गीकरण गरेको जानकारी दिए ।
उनका अनुसार १०६ वटा मतदानस्थल संवेदनशील र २२ वटा मात्र सामान्य श्रेणीमा परेका छन् ।
खुला सीमा क्षेत्र, मतदाताको चाप, विगतका निर्वाचनमा देखिएका विवाद, झडप तथा अवाञ्छित गतिविधिलगायतका कारण अधिकांश मतदानस्थललाई उच्च जोखिमयुक्त मानिएको प्रवक्ता बमको भनाइ छ । यस्ता क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको उनले बताए ।
मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा कुल ५ लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् । जसमा २ लाख ७६ हजार १२६ जना पुरुष, २ लाख ३८ हजार ४३५ जना महिला तथा १० जना लैंगिक तथा यौनिक अल्पसंख्यक (अन्य) मतदाता छन् ।
जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ४२ जना, क्षेत्र नम्बर २ मा ३४ जना, क्षेत्र नम्बर ३ मा ४५ जना र क्षेत्र नम्बर ४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षा निकाय, प्रशासन र निर्वाचन कार्यालयबीच समन्वय गरी विशेष सुरक्षा योजना कार्यान्वयन गरिने जनाइएको छ । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन प्रशासनले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

