मधेशमा कुष्ठरोगको उच्च जोखिम

जनकपुरधाम, १० माघ । कुष्ठरोगको सङ्क्रमणको दृष्टिकोणले मधेश प्रदेश नेपालकै सबैभन्दा उच्च जोखिममा रहेको देखिएको छ ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार देशभर रहेका कुल कुष्ठरोगीमध्ये करिब ३६ प्रतिशत मधेशमै रहेका छन् ।
घनाबस्ती, भारतसँग खुला सीमा तथा जनचेतनाको कमीका कारण मधेश प्रदेश कुष्ठरोगको दृष्टिले संवेदनशील क्षेत्र बनेको स्वास्थ्य निर्देशनालयका क्षय तथा कुष्ठरोग फोकल पर्सन राजवीर यादवले जानकारी दिए । उनका अनुसार मधेशका अधिकांश जिल्लामा अझै पनि कुष्ठरोगको संक्रमण दर उच्च रहेको छ ।
‘कुष्ठरोगको ६ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ भन्ने मूल नाराका साथ मनाइएको ७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा सार्वजनिक तथ्याङ्कअनुसार मधेश प्रदेशका ६ जिल्लामा मात्र ८ सय ५७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
देशभर नयाँ कुष्ठरोगीको सङ्ख्या २ हजार ४ सय ९ पुगेको छ । तीमध्ये ठूलो हिस्सा मधेश प्रदेशमै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल औषधि सेवन गरी उपचाररत रोगीको सङ्ख्या ८ सय ५ जना रहेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार मधेश प्रदेशका सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा कुष्ठरोगीको सङ्ख्या सबैभन्दा बढी छ । तीमध्ये बारा जिल्लामा सबैभन्दा धेरै रोगी रहेको पाइएको छ ।
हाल नेपालका १६ जिल्लामा कुष्ठरोगी रहेका छन् । प्रदेशगत रूपमा मधेशपछि लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा ५ सय ७९ जना कुष्ठरोगी छन् ।
कुष्ठरोगका कारण अङ्गभङ्ग भएका १ सय ५४ जनामध्ये ५८ जना मधेश प्रदेशका रहेका छन् । यसले समयमा उपचार नपाउने समस्या अझै गम्भीर रहेको देखाउँछ ।
नयाँ कुष्ठरोगीमध्ये १ हजार १२ महिला रहेका छन् । तीमध्ये ३ सय ७८ जना मधेश प्रदेशका छन् भने बाँकी पुरुष रहेका छन् ।
विशेषज्ञहरूका अनुसार महिला रोगी सामाजिक डर र लाजका कारण ढिलो उपचारमा जाने समस्या बढी देखिएको छ ।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सन् २०१९ मा कुष्ठरोगीको सङ्ख्या ३ हजार २ सय ८२ रहेकोमा सन् २०२४–२५ मा घटेर २ हजार ४ सय ९ पुगेको छ ।
तर, धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवका अनुसार रोगीको सङ्ख्या घटे पनि रोग लुकाउने प्रवृत्ति अझै कायम छ । ‘रोग लुकाउने, सामाजिक विभेद, अभिलेखको कमजोरी, दक्ष जनशक्तिको अभाव र खुला सीमा कुष्ठरोग नियन्त्रणका प्रमुख चुनौती हुन्,’ उनले भने ।
लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द साहका अनुसार कुष्ठरोग श्वासप्रश्वासमार्फत सर्न सक्छ । ‘रोगीको नजिक हप्तामा करिब २० घण्टा भन्दा बढी समय सम्पर्कमा रहने व्यक्तिमा संक्रमणको जोखिम बढ्छ,’ उनले भने ।
तर, उनका अनुसार समयमै उपचार गरेमा रोग अरूमा सर्दैन र पूर्ण रूपमा निको हुन्छ ।
नेपाल सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । रोगको प्रकारअनुसार ६ महिना वा १२ महिना औषधि सेवन गरेपछि रोग निको हुने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार कुष्ठरोग नियन्त्रणका लागि प्रारम्भिक पहिचान, नियमित उपचार, जनचेतना अभिवृद्धि र सामाजिक भेदभाव अन्त्य अपरिहार्य छ ।
विशेषज्ञहरूले मधेश प्रदेशमा कुष्ठरोग न्यूनीकरणका लागि सीमा क्षेत्रमा निगरानी, समुदायस्तरमा स्वास्थ्य परीक्षण, विद्यालयस्तरको शिक्षा तथा स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
समयमै रोग पहिचान र उपचार भएमा कुष्ठरोग पूर्ण रूपमा नियन्त्रण सम्भव रहेकाले सामाजिक डर र लाज त्यागेर स्वास्थ्य संस्थामा जान सबैलाई आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

