जनकपुरधाम, ७ माघ । स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रालाई म्यामोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले मिश्रासँग धरौटी माग गर्ने निर्णय गरेको हो ।

विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोगपत्रमा आर्थिक वर्ष २०८०/८१ मा गरिएको म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा सुरुदेखि नै अनियमितता भएको उल्लेख छ ।

अभियोगपत्रमा ठेकेदार कम्पनीसँग मिलेमतो गरी अस्वाभाविक लागत अनुमान तयार पारिएको, गलत प्राविधिक प्रतिवेदन बनाइएको र झुट्टा बिलका आधारमा भुक्तानी लिइएको आरोप लगाइएको छ ।

अख्तियारका अनुसार खरिद प्रक्रियामा विभागभित्रका कर्मचारीहरूको सक्रिय संलग्नता देखिएपछि अधिकांश कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ ।

म्यामोग्राफी मेसिन खरिदमा प्रतिस्पर्धा सीमित पार्ने, मूल्य बढाएर देखाउने र सरकारी रकम हिनामिना गर्ने उद्देश्यले योजनाबद्ध रूपमा प्रक्रिया अघि बढाइएको दाबी अभियोगपत्रमा गरिएको छ ।