प्रतिनिधिसभा निर्वाचन: धनुषामा १५८ उम्मेदवार, कसैविरुद्ध परेन उजुरी

जनकपुरधाम, ७ माघ । धनुषामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन ।
मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छैन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको थियो भने बुधबार बिहान १० बजेदेखि १ बजेसम्मका लागि उजुरीको समय निर्धारण गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालय धनुषाका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ४२ जना, क्षेत्र नम्बर २ मा ३४ जना, क्षेत्र नम्बर ३ मा ४५ जना र क्षेत्र नम्बर ४ मा ३७ जनाको उम्मेदवारी परेको छ ।
यसपटकको निर्वाचनमा अधिकांश क्षेत्रमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू नै दोहोरिएको देखिएको छ । प्रमुख दलहरूले पुरानै अनुहारलाई पुनः मैदानमा उतारेपछि चुनावी प्रतिस्पर्धा चिरपरिचित व्यक्तिहरूबीच केन्द्रित हुने देखिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दीपक कार्की उम्मेदवार छन् । उनी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार बनेका छन् । उनी अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट किशोरी साह उम्मेदवार छन् । उनी २०७९ मा जनमत पार्टीबाट प्रतिस्पर्धा गर्दै तेस्रो स्थानमा पुगेका थिए । नेपाली कांग्रेसबाट रामपल्टन साह चुनावी मैदानमा छन् ।
धनुषा क्षेत्र नम्बर २ मा पनि प्रमुख दलका पुरानै उम्मेदवारहरूको वर्चस्व देखिन्छ । यहाँ नेकपाबाट रामचन्द्र झा, नेपाली कांग्रेसबाट दिनेशप्रसाद यादव (प्रसैला) र नेकपा एमालेबाट उमाशंकर अरगरिया लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट जुली कुमारी महतो, नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साहलगायत उम्मेदवार छन् ।
धनुषा क्षेत्र नम्बर ४ मा पनि अघिल्लो निर्वाचनका प्रतिस्पर्धीहरू पुनः आमनेसामने छन् । नेकपा एमालेका रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादव मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । २०७९ को निर्वाचनमा महासेठ निर्वाचित भएका थिए भने यादव दोस्रो स्थानमा सीमित भएका थिए ।
उजुरी नपर्नुले उम्मेदवारी प्रक्रिया शान्तिपूर्ण र नियमसम्मत ढंगले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसँगै धनुषामा चुनावी माहोल थप तातिने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

