जनकपुरधाम, ७ माघ । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, सुरक्षित र विश्वसनीय बनाउन यस्तो निर्देशन दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार जिल्लामा रहेका सबै इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय धनुषा वा नजिकको प्रहरी इकाइमा लगत कायम गरी बुझाउनुपर्नेछ ।

निर्वाचनको समयमा कुनै पनि सुरक्षा जोखिम नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी इकाइमा बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित धनीले फिर्ता पाउने छन् ।

तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित बनाउन सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सूचनाको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।