जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट राम ललित मण्डलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका मण्डलले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि मण्डलले वामपन्थी शक्तिहरूको एकताबाट बनेको नेकपाले आफूलाई धनुषा–३ मा अवसर दिएको बताउँदै जनताको अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाए । उनले यस क्षेत्रका जनताको समस्यालाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन रहेकाले यस क्षेत्रमा उम्मेदवारी नदिइएको थियो । तर, यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नेकपाले नयाँ राजनीतिक समीकरणसहित मण्डललाई उम्मेदवार बनाएको हो ।

राम ललित मण्डल धनुषा–३ का लागि नयाँ अनुहार हुन् ।