धनुषा–३ बाट रास्वपाका प्रवक्ता मनिष झाको उम्मेदवारी दर्ता

जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै झाले धनुषा–३ को सर्वाङ्गीण विकासलाई मुख्य लक्ष्य बनाएर आफू चुनावी मैदानमा उत्रिएको बताए ।
उनले विगतमा यहाँका जनप्रतिनिधिहरूले चुनावका बेला मत माग्नेबाहेक जनताको जीवनमा ठोस परिवर्तन ल्याउने काम गर्न नसकेको टिप्पणी गरे । आफू भने भाषण र आश्वासनभन्दा परिणाम देखिने काम गर्न चाहेको उनको भनाइ थियो ।
झाले यो निर्वाचनमा जनताले साथ र विश्वास दिए आगामी निर्वाचनमा उपलब्धि र कमजोरी समेटिएको ‘रिपोर्ट कार्ड’ लिएर पुनः जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरे । यसले नेपाली राजनीतिमा जवाफदेहिताको नयाँ संस्कार स्थापना गर्ने विश्वास उनले व्यक्त गरे ।
पछिल्लो निर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका झा यसपटक भने प्रत्यक्ष निर्वाचनमार्फत जनताको मत लिएर संसद् पुग्ने तयारीमा छन् । प्रमुख दलका प्रभावशाली उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेका कारण धनुषा–३ को चुनावी समीकरण थप रोचक बन्दै गएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

