जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

एमालेका नेता कार्यकर्ता, समर्थक तथा बाजागाजासहित उत्साहपूर्ण वातावरणमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै महतोले एमालेले देशभर अघि सारेको समृद्धि र विकासको अभियान अझै अधुरो रहेकाले त्यसलाई पूर्णता दिन पुनः जनमतको आवश्यकता परेको बताइन् ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सफल बनाउन एमालेको बहुमतको सरकार अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि धनुषा–३ का मतदातालाई एमालेका पक्षमा मतदान गर्न आग्रह गरिन् ।

महतो पछिल्लो निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनले तत्कालीन लोसपा पार्टीका उम्मेदवार अनिलकुमार झालाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेकी थिइन् । आफ्नो कार्यकालमा क्षेत्रका आधारभूत पूर्वाधार, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा थालिएका कामलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

यसपटक धनुषा–३ मा चुनावी प्रतिस्पर्धा थप चर्किने देखिएको छ । महतोलाई कडा टक्कर दिन नेपाली कांग्रेसका तर्फबाट पूर्वउपसभापति विमलेन्द्र निधि पनि उम्मेदवारी दिएका छन् ।

प्रमुख दलका प्रभावशाली उम्मेदवारहरू मैदानमा उत्रिएसँगै धनुषा–३ को चुनावी माहोल थप रोचक बनेको छ ।