जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी नेता कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक जुलुशसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका निधिले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै निधिले संघीय लोकतन्त्रको सुदृढीकरण, मधेशको पहिचान र अधिकारको संरक्षण तथा जनताको दैनिकीसँग जोडिएका विकासका मुद्दालाई मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले विगतमा जनताबाट प्राप्त अनुभव र सिकाइलाई आधार बनाएर यसपटक धनुषा–३ को समग्र विकासका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राजपाका उम्मेदवार राजेन्द्र महतोसँग पराजित भएका निधि २०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । प्रत्यक्ष निर्वाचनमार्फत पुनः जनताको मत लिएर संसद् पुग्ने लक्ष्यसहित आफू मैदानमा उत्रिएको उनको भनाइ छ ।

धनुषा–३ मा नेकपा एमालेबाट जुलीकुमारी महतो र नेपाली कांग्रेसबाट विमलेन्द्र निधिको उम्मेदवारी परेपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । दुवै प्रमुख दलका प्रभावशाली उम्मेदवार मैदानमा रहेकाले यहाँको चुनावले प्रदेश तथा राष्ट्रिय राजनीतिमा पनि विशेष चासो बढाएको छ ।