जनकपुरधाम, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशलाई विभाजन गर्ने भाष्य अस्वीकार गर्दै नेपालमा सबै नागरिक नेपालवादी भएको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित उदघोष सभालाई सम्बोधन गर्दै उनले मधेश र पहाडको नाममा राजनीति गर्ने प्रवृत्तिको आलोचना गरे ।

लामिछानेले अघिल्लो सरकारहरूले मधेश र देशमाथि अन्याय गरेको दाबी गर्दै त्यसको हिसाब–किताब हुने चेतावनी दिए ।

‘जनआन्दोलनमा बच्चाहरूमाथि गोली चलाउने सरकारले गरेको अन्यायको जवाफ दिनुपर्छ,’ उनले भने । आफूलाई षड्यन्त्रपूर्वक संसदबाट हटाइएको दाबी गर्दै उनले अब अझ ठूलो जनसमर्थनसहित संसदमा फर्किने दाबी पनि गरे ।

वरिष्ठ नेता बालेन साहसँगको सहकार्यबारे उल्लेख गर्दै लामिछानेले पाँच मिनेटको छोटो भेटमै साझा सपना र लक्ष्य तय भएको बताए ।

‘हाम्रो संवाद पाँच मिनेटमै सकियो । तर, त्यो पाँच मिनेटले देश बदल्ने सपना जोड्यो,’ उनले भने । गरिबी र विभेद अब सह्य नहुने भन्दै उनले परिवर्तनको विकल्प रास्वपा भएको दाबी गरे ।

मधेशमा रास्वपाको जनसमर्थन बढ्दो रहेको उल्लेख गर्दै उनले ‘उन्नत बीउ’को उपमा दिए । ‘हिजो रोपिएको बीउ आज लहलहाएको छ । आजको उपस्थिती त्यही विश्वासको फल हो,’ उनले भने ।

मधेश ढिलो भए पनि ठीक समयमा साथ आएको भन्दै उनले ‘देर आए, दुरुस्त आए’ भने ।

विरोधीहरूप्रति लक्षित गर्दै लामिछानेले कसैलाई देश छाड्न भन्नु आवश्यक नरहेको धारणा राखे । ‘देश छाडेकालाई फर्काउने राजनीति गरौँ,’ उनले भने, ‘हामी इतिहास पढ्ने नभई इतिहास लेख्ने मान्छे हौँ ।’