काण्डै काण्डको भारी बोकेको प्रणाली सुधार्ने रास्वपाको संकल्पः डा. स्वर्णिम वाग्ले

जनकपुरधाम, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले देशमा जरा गाडेर बसेको विकृत आर्थिक मोडेललाई सुधार्ने समय आएको बताएका छन् ।
सोमबार जनकपुरधाममा रास्वपाले आयोजना गरेको ‘परिवर्तनको उदघोष सभा’लाई सम्बोधन गर्दै उनले आर्थिक संरचनामा आमूल सुधार नगरी समावेशी विकास सम्भव नहुने स्पष्ट पारे ।
उपसभापति वाग्लेले मधेशको अपार सम्भावना हुँदाहुँदै पनि उत्पादकत्व बढाउन नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै कृषि, उद्योग र रोजगारी सिर्जनामा केन्द्रित नीतिगत सुधार आवश्यक रहेको बताए । ‘मधेश उत्पादन र अवसरको केन्द्र बन्न सक्छ । तर, त्यसका लागि योजनाबद्ध लगानी र सुशासन अपरिहार्य छ,’ उनले भने ।
रास्वपा संघीयता विरोधी नरहेको सन्देश मधेशबाटै सुरु गरिएको उदघोष सभाले स्पष्ट पारेको उल्लेख गर्दै वाग्लेले संघीयताको नाममा भएका बदमासीलाई पखाल्दै वास्तविक संघीय अभ्यास स्थापित गर्ने प्रतिवद्धता दोहोर्याए । उनले सामाजिक न्यायसहितको उदार अर्थतन्त्र नै देशको दिगो विकासको आधार हुने बताए ।
सभामा बोल्दै उनले काण्डै–काण्डले थिचिएको प्रणालीलाई सुधार्नु नै पार्टीको मूल उद्देश्य रहेको उल्लेख गरे । संघीयताप्रतिको प्रतिवद्धता अटुट रहेको बताउँदै उनले विकृतिलाई सच्याएर पारदर्शी र जवाफदेही शासन प्रणाली निर्माण गर्ने दाबी गरे ।
कार्यक्रममा रास्वपाका नेताहरूले आगामी दिनमा पार्टी नेतृत्वले सुधारवादी एजेन्डासहित देशको नेतृत्व लिने विश्वास व्यक्त गरे । सभामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई भावी राष्ट्रिय नेतृत्वका रूपमा प्रस्तुत गर्दै पुराना, अप्रिय र ऐतिहासिक बोझ बनेका अभ्यासहरू अन्त्य गर्ने लक्ष्य रहेको बताइयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


