पूर्वमुख्यमन्त्री सतिश सिंहद्वारा प्रदेशसभा सदस्य पदबाट राजीनामा

जनकपुरधाम, ५ माघ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी दिँदै जनमत पार्टीको साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् ।
सिंहले भने, ‘आज औपचारिक रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएँ । साथै, जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि अलग भएको छु ।’
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिंहले छुट्टै राजनीतिक दल दर्ता गरिसकेका छन् । आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गरिएको र सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी रहेको उनले जनाएका छन् ।
सिंह २०७९ सालको प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका तर्फबाट निर्वाचित भएका थिए । जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएको थियो ।
तर, जेनजी आन्दोलनको क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेपछि त्यसबारे धारणा परिवर्तन गर्दा पार्टीभित्र विवाद चुलिएको थियो ।
त्यसपछि जनमत पार्टीले उनलाई दिएको समर्थन फिर्ता लिएसँगै सिंह पार्टीभित्र विवादित बनेका थिए ।
राजनीतिक यात्रामा अनुभवी सिंह २०७४ देखि २०७९ सालसम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत रहिसकेका छन् । ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


