सिरहा, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले मधेश आन्दोलनका शहीदको सम्झनामा लहानस्थित शहीद सालिकमा माल्यार्पण गरेका छन् ।

आन्दोलनका प्रथम शहीद रमेश महतोसहित विजय सहनी, प्रमोद सदाय, बेचन यादव र अनिष अन्सारीलगायतका शहीदको शालिकमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

जनकपुरधामस्थित जानकी मन्दिरमा बिहानै पूजा–अर्चना सम्पन्न गरेपछि साह लहान पुगेका थिए । माल्यार्पण कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र नेता अमरेशकुमार सिंह पनि सहभागी थिए ।

मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्मानमा प्रत्येक वर्ष माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने गरिन्छ । सोही अवसरमा गरिएको माल्यार्पणले शहीदप्रति सम्मान र आन्दोलनको ऐतिहासिक महत्वलाई स्मरण गराएको सहभागीहरूको भनाइ छ ।

शहीदको शालिकमा श्रद्धाञ्जली अर्पणपछि बालेन सहितका नेताहरू आज जनकपुरधाममा आयोजना हुने सभामा सहभागी हुने कार्यतालिका रहेको जनाइएको छ ।