खाजाको पैसा बचाएर मानव सेवा

जनकपुरधाम, ५ माघ । राजर्षी जनक क्याम्पसका कक्षा ११ वाणिज्य संकाय सेक्शन ‘बी’ का विद्यार्थीहरूले मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै जानकी वृद्धा आश्रममा खाद्यान्न सामग्री वितरण गरेका छन् ।
विद्यार्थीहरूले दैनिक खाजाका लागि खर्च हुने रकम बचत गरी संकलित पैसाबाट चामल, दाल, तेल, नुनलगायत आवश्यक खाद्यान्न सामग्री खरिद गरी आश्रमलाई सहयोग गरेका हुन् ।
विद्यार्थीहरूको सामूहिक पहलमा सम्पन्न उक्त कार्यक्रममा आश्रममा आश्रित वृद्धवृद्धाहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । सहयोग प्राप्त भएपछि आश्रम व्यवस्थापनले विद्यार्थीहरूको संवेदनशीलता, सामाजिक जिम्मेवारी र सेवाभावको प्रशंसा गरेको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले समाजका कमजोर र उपेक्षित वर्गप्रति जिम्मेवारी महसुस गर्दै सानो बचतले पनि ठूलो सहयोग गर्न सकिने सन्देश दिन खोजिएको बताए । उनीहरूले यस्ता सामाजिक कार्यले मानवीय मूल्य र नैतिकताको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
क्याम्पस प्रशासन तथा शिक्षकहरूले पनि विद्यार्थीहरूको यो पहल अनुकरणीय रहेको भन्दै आगामी दिनमा यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिन प्रोत्साहन गरेका छन् ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

