शनिबार जनकपुरधामका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने

जनकपुरधाम, २ माघ । शनिबार जनकपुरधामका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत पर्ने मुजेलिया सबस्टेशनबाट आपूर्ति हुँदै आएका ११ केभी सिटी–२, सिटी–३ र पिडारी फिडरमा मर्मत तथा सुधार कार्यका कारण शनिबार विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।
नेविप्रा जनकपुर वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार माघ ३ गते शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित फिडरहरू सटडाउन गरिनेछ ।
यस अवधिमा ती फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत आपूर्ति आंशिक वा पूर्ण रूपमा अवरुद्ध रहनेछ ।
सिटी–२ फिडर अन्तर्गत मिल्स एरिया, जनकचौक, शिवचौक, रामचौक, मुरलीचौक, विश्वकर्मा चौक लगायतका क्षेत्र प्रभावित हुनेछन् ।
त्यस्तै, सिटी–३ फिडर अन्तर्गत भानुचौक, रेलवे स्टेशन, सिता चौक, कदमचौक, वकिल टोल, मालपोत क्षेत्र, पिररियामाई, कपलेश्वर, कुवा, रामपुर, लोहना हनुमाननगरलगायतका स्थानमा विद्युत आपूर्ति बन्द रहनेछ ।

पिडारी फिडर अन्तर्गत बिन्धी, लादोबेला, बसहिया, गंगुली, घोडघास, नगराईन, लगमा, फुलगामा, मुखियापट्टी, मुसहरनिया, बेरिया लगायतका क्षेत्रमा समेत विद्युत सेवा प्रभावित हुने जनाइएको छ ।
निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा सोही अनुसार विद्युत आपूर्ति पुनः सञ्चालन गरिने जनकपुर वितरण केन्द्रले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

