जनकपुरधाम, २ माघ । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले पत्रकार, साहित्यकार तथा वरिष्ठ गीतकार अशोक दत्तको निवासमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभामुख यादवले दत्तको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उनले दत्तले पत्रकारिता, साहित्य र गीत संगीतको माध्यमबाट समाज र संस्कृतिमा पुर्‍याएको योगदान स्मरणीय रहेको उल्लेख गर्दै यस्ता स्रष्टाहरूको सम्मान र संरक्षण राज्यको दायित्व भएको बताए ।

सभामुख यादवले आम नागरिकको घरमै पुगेर आत्मीयता र सम्मान प्रकट गर्नु लोकतान्त्रिक संस्कृतिको सशक्त उदाहरण भएको उल्लेख गरे ।

‘जनतासँगको नजिकपन, सुख दुःखमा साथ र मानवीय संवेदना नै सार्वजनिक पदमा रहेकाहरूको मूल जिम्मेवारी हो,’ सभामुख यादवको भनाइ थियो ।

भेटका क्रममा दत्तले सभामुख स्वयं घरमै आएर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकोमा आभार व्यक्त गरे । उनले यस्तो आत्मीय व्यवहारले आफू मात्र नभई सिंगो साहित्यिक तथा पत्रकारिता क्षेत्र नै सम्मानित भएको अनुभूति भएको बताए ।