महोत्तरी–४ मा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

महोत्तरी,२ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) महोत्तरी जिल्ला क्षेत्र नं. ४ को क्षेत्रीय समितिको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका थिए भने पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री शरद सिंह भण्डारी, मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता र श्रम, यातायात तथा रोजगार मन्त्री मनिष कुमार सुमन विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई अध्यक्ष यादवले स्वागत गरे ।

प्रमुख अतिथि यादवले मधेशको पहिचान र सामाजिक न्यायको मुद्दालाई संस्थागत रूपमा अघि बढाउने एकमात्र शक्ति जसपा भएको दाबी गरे । उनले भने, ‘संघीयता, समानता र अधिकारका लागि लडेको पार्टीलाई जनताको विश्वास बढ्दो छ । अबको निर्वाचनमा मधेशको जनमत जसपातर्फ स्पष्ट देखिन्छ ।’
वरिष्ठ नेता भण्डारीले संविधान कार्यान्वयन र सुशासनको सवालमा जसपा प्रतिबद्ध रहेको उल्लेख गरे । ‘राजनीति सत्ता नभई सेवा हो । मधेशको विकास र अधिकार सुनिश्चित गर्न हामी जिम्मेवार ढंगले अघि बढ्छौं,’ उनले भने ।
कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी र पार्टी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

