महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

महोत्तरी, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनसम्बन्धी उम्मेदवारी दर्ता, कर्मचारी परिचालन, निर्वाचन सामग्रीको व्यवस्थापन तथा भण्डारण, प्रशासनिक कामकारबाही र मतगणनालगायत सम्पूर्ण निर्वाचन गतिविधि सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जलेश्वरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको उक्त कार्यालयको जिल्ला अदालत महोत्तरीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा उद्घाटन गरे ।
यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का लागि बर्दिबास उद्योग वाणिज्य संघको कार्यालय, क्षेत्र नं २ का लागि बलवा नगरपालिका–७ बनौटास्थित आधारभूत अस्पतालको भवन र क्षेत्र नं ४ का लागि रामगोपालपुरस्थित महेन्द्र माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । निर्वाचन क्षेत्र नं ३ को कामकाज भने मुख्य निर्वाचन अधिकृतकै कार्यालयबाट सञ्चालन हुने जनाइएको छ ।
निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नं १ मा गगनदेव महतो, क्षेत्र नं २ मा शोभाकर खरेल र क्षेत्र नं ४ मा नारायणप्रसाद चापागाईं निर्वाचन अधिकृत रहनेछन् ।
प्रमुख जिल्ला अधिकारी यादवले निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार यसपटक ३४ हजार २५२ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाता संख्या चार लाख ३१ हजार २८२ पुगेको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीमा तीन लाख ९७ हजार ३० मतदाता रहेका थिए । हाल पुरुष मतदाता दुई लाख ३५ हजार १८३, महिला एक लाख ९२ हजार ९७ र अन्य दुई जना छन् ।
चार निर्वाचन क्षेत्रमा कुल २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रञ्जिता झाले जानकारी दिए ।
क्षेत्र नं १ मा एक लाख पाँच हजार ६४६ मतदाताका लागि ५९ मतदानस्थल र १२० मतदान केन्द्र, क्षेत्र नं २ मा एक लाख सात हजार ५९४ मतदाताका लागि ६२ मतदानस्थल र १३३ मतदान केन्द्र, क्षेत्र नं ३ मा एक लाख १० हजार ४३६ मतदाताका लागि ७७ मतदानस्थल र १४२ मतदान केन्द्र तथा क्षेत्र नं ४ मा एक लाख सात हजार ६०६ मतदाताका लागि ६० मतदानस्थल र १३१ मतदान केन्द्र तोकिएको छ ।
सुरक्षाको दृष्टिले महोत्तरीका १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सूचीमा राखिएको जिल्ला प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

