प्राविधिक समस्याले राष्ट्रिय परिचयपत्र सेवा आंशिक रूपमा अवरुद्ध

जनकपुरधाम, २ माघ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा प्राविधिक समस्या देखिएपछि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माघ १ गतेदेखि प्रणालीमा समस्या आएको र मर्मत कार्य जारी रहेकाले सेवा अवरुद्ध भएको जनाएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार मर्मत कार्य सम्पन्न नभएसम्म अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण सच्याउने सेवा, जन्म दर्ताका क्रममा राष्ट्रिय परिचय नम्बर (NIN) प्राप्त गर्ने सेवा तथा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता र नवीकरणका क्रममा हुने NIN वा जैविक विवरण प्रमाणीकरण सेवा प्रभावित भएका छन् ।
यसैगरी, राहदानी, बैंक तथा वित्तीय संस्था, कम्पनी रजिष्ट्रार, नागरिक एप, वैदेशिक रोजगार, राष्ट्रिय किताबखाना, स्थायी लेखा नम्बर (प्यान) लगायत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआवद्ध रहेका अन्य सार्वजनिक सेवामा पनि असर परेको विभागले जनाएको छ ।
यद्यपि, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरणसम्बन्धी कार्य अफलाइनमार्फत गर्न सकिने भएकाले सोही बमोजिम व्यवस्था मिलाउन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाई (NID Station) लाई निर्देशन दिइएको छ ।
अफलाइनमार्फत विवरण दर्ता गराएका सेवाग्राहीले अनलाइन सेवा पुनः सञ्चालन भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त गर्ने विभागले स्पष्ट पारेको छ ।
सेवा अवरुद्ध हुँदा सर्वसाधारणमा परेको असुविधाप्रति विभागले क्षमायाचना गर्दै मर्मत कार्य सम्पन्न हुनासाथ सेवा पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

