सप्तरी, १ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा रहेको राइस मिलमा काम गर्ने एक मजदुरको कामकै क्रममा दुर्घटनामा परी मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–६ कठौनास्थित मनोजकुमार काबराको स्वामित्वमा रहेको प्रमोद राइस सेलर मिलमा मेसिन सफा गर्ने क्रममा खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खडक नगरपालिका–४ पनसेरा घर भएका ३५ वर्षीय अर्जुन विक करिब २० फिट उचाइबाट खसेका थिए ।

प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार मेसिन सफा गर्ने क्रममा सन्तुलन गुमाएर खस्दा विकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।