जनकपुरधाम, १ माघ । धनुषाधाम नगरपालिका–६ स्थित हरिपुर गाउँमा जङ्गली हात्तीको समूहले प्रवेश गरी तीनवटा घरमा क्षति पुर्याएको छ ।

बुधबार राति करिब ११ बजे चारवटा जङ्गली हात्ती गाउँ पसेर कच्ची घरहरू भत्काउँदै अन्न तथा खाद्य सामग्री नष्ट गरेका हुन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार सुकुमाया मिजार, प्रेम लामा र खले मिजारको कच्ची घरमा हात्तीले क्षति पुर्याएका छन् ।

हात्तीले घरको बेरा भत्काएर भित्र भण्डारण गरिएको धान र जाँड बनाउन राखिएको कच्चा पदार्थ खाइदिएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ ।

हात्ती गाउँ पसेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासीको सहयोगमा हात्तीलाई गाउँबाट धपाइएपछि ती हात्ती नजिकैको आँप बगान क्षेत्रमा गएर बसेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

पीडित खले मिजारले हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन परिवारसहित घर छोडेर भाग्नुपरेको बताए । उनका अनुसार भकारीमा राखिएको धान समेत हात्तीले खाइदिएको छ ।

डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत अनिल साहले हात्ती अझै गाउँ आसपासमै रहेकाले पुनः गाउँ पस्ने जोखिम कायम रहेको बताए ।

उनले स्थानीयलाई रातिको समयमा विशेष सतर्कता अपनाउन, एक्लै बाहिर ननिस्कन तथा हात्ती देखिएमा तत्काल प्रहरी र वन कार्यालयलाई जानकारी गराउन आग्रह गरेका छन् ।