जनकपुरधाम, १ माघ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ मूल नाराका साथ मधेश प्रदेशमा बिहीबार ११औँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामको आयोजनामा चिकित्सालयको मुजेलियास्थित भवनमा विशेष योग कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी योग प्रशिक्षक तथा विज्ञहरूले योगलाई अभ्यासमा सीमित नराखी दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बदलिँदो जीवनशैलीका कारण बढ्दै गएको मानसिक तनाव र नसर्ने रोगको जोखिम कम गर्न योग प्रभावकारी माध्यम भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका सभामुख रामआशिष यादवले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन योगलाई दैनिक दिनचर्यामा समावेश गर्नुपर्ने धारणा राखे । हाल मानिसहरू विभिन्न विकार र नसर्ने रोगबाट पीडित भइरहेको उल्लेख गर्दै उहाँले योगको नियमित अभ्यासले रोगको रोकथाम तथा उपचारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उपसभामुख बबिता राउत ईशरले व्यस्त जीवनशैलीका कारण मानसिक तनाव बढ्दै गएको र त्यसकै कारण विभिन्न स्वास्थ्य समस्या देखापरेको बताउँदै योग तथा प्रणायामलाई नियमित अभ्यास गर्नुपर्ने आवश्यकता औंल्याइन ।

प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री रामसरोज यादवले युवापुस्तामा देखिएको कुलत, अस्वस्थ खानपान र विषादीयुक्त खाद्य सामग्रीका कारण उत्पन्न स्वास्थ्य समस्याबाट जोगिन योग, ध्यान र प्रणायाम अपरिहार्य भएको धारणा व्यक्त गरे ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले हरेक व्यक्तिले मानसिक तथा शारीरिक सन्तुलन कायम राख्न दैनिक कम्तीमा आधा घण्टा योग र प्रणायाम गर्नुपर्ने सुझाव दिए ।

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामका कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा. महारुद्र ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग प्रशिक्षकहरूले सहभागीहरूलाई विभिन्न योगासन तथा प्रणायामको अभ्यास गराएका थिए ।

कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।