जनकपुरधाममा ११औं राष्ट्रिय योग दिवस मनाइयो

जनकपुरधाम, १ माघ । जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी ११औं राष्ट्रिय योग दिवस मनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका र राजर्षि पतञ्जली योग साधना केन्द्रको संयुक्त आयोजनामा योग शिविर सञ्चालन गरी दिवस मनाइएको हो ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित आयोजित योग शिविर जनकपुरधाम उपमहानगरपालिकाको आयुर्वेद शाखाले व्यवस्थापन गरेको थियो ।
शिविरमा सहभागीहरुलाई प्रशिक्षकद्वारा योगाभ्यास गराइएको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, राजर्षि पतञ्जली योग साधना केन्द्रका अध्यक्ष संजीत यादवलगायतको उपस्थिति रहेको थियो ।
दिवसको अवसरमा नगरप्रमुख साहले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै स्वस्थ जीवनशैलीका लागि योगलाई जनस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल सरकारले प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । योग दिवसको अवसरमा यस वर्ष पनि धनुषा जिल्लाका विभिन्न स्थानमा योग शिविर तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको छ ।
यसअघि योग दिवसको अवसर पारेर राजर्षि पतञ्जली योग साधना केन्द्रले जनकपुरधाममा प्रभातफेरीसमेत आयोजना गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

