निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

जनकपुरधाम, २९ पुष । मधेश प्रदेशका पूर्वराज्यमन्त्री तथा निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ । उक्त मुद्दा मंगलबार विशेष अदालतको इजलासमा सुनुवाइ हुने भएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ तय गरिएको अदालत स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित अन्य प्रतिवादीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार सरोजकुमार सिंहले उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको विकास आयोजनाको रकम दुरुपयोग गरेका छन् । आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ । उपभोक्ता समितिको खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त बैंक खातामा जम्मा गरी हिनामिना गरिएको आरोप अख्तियारले लगाएको छ ।
यसै प्रकरणमा सिंहसहित कुल १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दामा अन्य प्रतिवादीका रूपमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन् ।
अख्तियारले उपभोक्ता समितिका पदाधिकारी तथा सम्बन्धित व्यक्तिहरूको मिलेमतोमा सार्वजनिक रकम दुरुपयोग गरिएको निष्कर्षसहित मुद्दा अघि बढाएको हो । आयोगका अनुसार सरकारी स्रोतबाट प्राप्त रकम निर्धारित उद्देश्यअनुसार खर्च नगरी व्यक्तिगत लाभका लागि प्रयोग गरिएको पाइएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद सिंह निलम्बनमा परेका थिए । अब विशेष अदालतको आगामी सुनुवाइले यस प्रकरणमा न्यायिक प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा चासो बढेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

