महोत्तरी, २८ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न महोत्तरीमा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार धनीहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हातहतियार बुझाउन आग्रह गरेको हो ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिनेछ र ती हातहतियार सुरक्षित रूपमा राखिनेछन् ।

सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा प्रचलित कानुन बमोजिम हातहतियार जफत गरी कानुनी कारबाही अगाडि बढाइने चेतावनीसमेत दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्न सबै नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।