मधेशको शक्ति एक ठाउँमा, जसपा–लोसपाबीच १२ बुँदे एकता सम्झौता

जनकपुरधाम, २७ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकताको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । आइतबार दुवै दलबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएसँगै पार्टी एकीकरणलाई संस्थागत गर्ने सहमति बनेको हो ।
सम्झौताअनुसार एकीकरणपछि बन्ने दलको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल नै रहनेछ । नयाँ संरचनामा लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको संरक्षक बनाइने र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइने सहमति भएको छ ।
एकीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । सो समितिले पार्टीको सांगठनिक एकता, नीतिगत समायोजन तथा भावी कार्यदिशा तय गर्ने जिम्मेवारी पाउने सहमति पत्रमा उल्लेख छ । समन्वय समितिअन्तर्गत ११ सदस्यीय सचिवालय गठन गरिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

दुवै दलबीच भएको सम्झौतामा संगठनात्मक एकता, नेतृत्व व्यवस्थापन, नीति तथा कार्यक्रमको समायोजन, पार्टी सञ्चालनका आधारभूत मापदण्डलगायत विषय समेटिएको बताइएको छ । एकतापछि मधेस केन्द्रित राजनीति थप सशक्त बनाउने, संघीयता, समावेशिता र पहिचानका मुद्दामा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता पनि सम्झौतामा जनाइएको छ ।
नेताहरूका अनुसार विगतका विभाजन र असहमतिका कारण कमजोर बनेको मधेशी राजनीतिलाई पुनः एकताबद्ध र प्रभावकारी बनाउने लक्ष्यका साथ यो पहल गरिएको हो । एकताले राष्ट्रिय राजनीतिमा पार्टीको हैसियत बलियो बनाउने तथा आगामी निर्वाचन र राजनीतिक संघर्षमा संयुक्त रूपमा प्रस्तुत हुने आधार तयार गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।
सम्झौतापछि दुवै दलका शीर्ष नेताहरूले एकताले कार्यकर्ता र समर्थकमा नयाँ उत्साह पैदा गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले पार्टी एकीकरणलाई छिट्टै औपचारिक रूप दिने, संगठनात्मक संरचना विस्तार गर्ने र जनताका मुद्दामा केन्द्रित कार्यक्रम अघि बढाउने बताएका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

