सिरहामा पृथ्वी जयन्ती भव्य रूपमा सम्पन्न, विद्यार्थी सहभागितासहित नेपाली सेनाको विशेष कार्यक्रम

—श्याम कुमार ठाकुर
सिरहा, २७ पुष । आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ सिरहामा भव्य रूपमा मनाइएको छ ।
नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डाको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी सहभागितासहित विविध शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र एकताको सन्देश फैलाउने उद्देश्यले प्रत्येक वर्ष पुष २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले भर्ना छनोट प्रक्रियासम्बन्धी जानकारी, सेनाका गतिविधि झल्काउने फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको थियो ।

कार्यक्रमअन्तर्गत सप्तरीबाट आएको श्री बरख गणले नेपाली सेनाका विविध गतिविधि समेटिएको फोटो प्रदर्शनी प्रस्तुत गरेको थियो भने चोहर्वा ब्यारेकमा तैनाथ श्री नन्दाबक्स गणले सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा सिरहा जिल्लाका विभिन्न विद्यालयबाट करिब १५० जना छात्रछात्राको सहभागिता रहेको थियो । पृथ्वीनारायण शाहको राष्ट्रनिर्माणमा रहेको ऐतिहासिक योगदानको स्मरण गर्दै युवा पुस्तामा देशप्रेम र राष्ट्रिय चेतनाको भावना विकास गर्ने उद्देश्य कार्यक्रमको मुख्य केन्द्रमा रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि श्री नं. २७ वाहिनीपति सहायक रथी नारायण बहादुर थापाले राष्ट्रनिर्माताको योगदान स्मरण गर्दै बालबालिकामा सानैदेखि देशप्रेम र राष्ट्रिय चेतनाको विकास अपरिहार्य रहेको बताए । उनले इतिहासको ज्ञानले नागरिकमा देशप्रतिको दायित्वबोध बढाउने उल्लेख गर्दै नेपाली सेनाले विद्यालयहरूसँग सहकार्य गरी देशभर यस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट ठहरिएका श्री स्वस्तिक पाठशालाका छात्र तेजस सहिलाई ब्रिगेड मोमेन्टो प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

