सिरहा, २६ पुष । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ताले मधेश प्रदेशलाई सुन्दर र समृद्ध बनाउने जिम्मेवारी काँधमा आएको बताएका छन् ।

मन्त्री गुप्ता मधेश आन्दोलनका शहीदहरुको शालिकमा माल्यार्पण गर्दै कार्यक्रममा सहभागी भए ।

उनले शहीदहरु रमेश महतो, विजय सहनी, बेचन यादव, प्रमोद सदाय र मोहम्मद अनिस अन्सारीलाई सम्झँदै भने, ‘अबको यात्रा समृद्धि र विकासको हो । जनताले चाहेको परिणाम दिन नसकेर देशमा जेनजी विद्रोह भएको हो ।’

जनभावनाअनुसार काम नगरेको असन्तुष्टिहरु सम्बोधन गर्दै शहीदलाई साक्षी राखेर काम गर्ने बोधले उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको उनले बताए ।

आफू मधेश आन्दोलनबाट स्थापित र निर्वाचित जनप्रतिनिधि भएकाले जनभावना अनुसार काम गर्ने प्रतिवद्धता मन्त्री गुप्ताले व्यक्त गरे ।

उनले मधेश प्रदेशमा विकासको गति अझै कम भएको स्वीकार्दै भने, ‘मधेश प्रदेश सुगम र सम्भावना भएको प्रदेश भए पनि विकासको गति लिन सकेको छैन । वर्तमान सरकार देखिने र महसुस गरिने गरी काम गर्नतिर उन्मुख छ ।’

विशेष प्राथमिकतामा कमला पुल निर्माण र गाउँ शहर जोड्ने प्रदेशस्तरीय सडक निर्माण कार्य रहेको मन्त्री गुप्ताले स्पष्ट पारे ।

उनले बजेट पारदर्शी, समयमा निकासा हुने र प्रभावकारी अनुगमन हुने सुनिश्चित गर्दै सबैको सहयोग, सहमति र सहकार्यबाट मात्रै विकास सम्भव हुनेमा विश्वास व्यक्त गरे ।