दिलिप महतोको छैठौं पुण्यतिथिमा माइतीघरमा श्रद्धाञ्जली

काठमाडौँ, २६ पुष । युथ एसोसिएसन अफ नेपाल (यान) ले पर्यावरण अभियन्ता दिलिप महतोको छैठौं पुण्यतिथिको अवसरमा काठमाडौँको माइतीघर मण्डलामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
अवैध खोला उत्खनन रोक्ने क्रममा २०७६ साल पुस २५ गते टिपरले किचेर हत्या गरिएका महतोको सम्झनामा आयोजित कार्यक्रममा न्याय र सम्मानको माग दोहोरिएको छ ।
यानका केन्द्रीय महासचिव दिपक यादवको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले दिलिप महतोलाई पहिलो ‘पर्यावरण शहीद’ घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
विगत ६ वर्षदेखि यानले निरन्तर रूपमा महतोको हत्या प्रकरणमा न्याय र पर्यावरण संरक्षणको मुद्दा उठाउँदै आएको जनाएको छ ।
कार्यक्रममा दिलिप महतोका बहिनीहरू, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, मधेश लाइब्रेरीका संरक्षक आभाष गुरु, ब्लड फर नेपालका सरोज महतो, कुश्वाहा समाजका केन्द्रीय अध्यक्ष राकेश सिंह, बिटु मिश्र, भोला भट्टराई, राज सिंघानिया लगायत दर्जनौं युवाहरूको उपस्थिति रहेको थियो ।
यसै अवसरमा दिलिप महतोकी बहिनी अध्यक्ष रहेको दिलिप महतो प्रतिष्ठानले पनि छुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । दुवै संस्थाको कार्यक्रम एउटै स्थान र समयमा परेकाले संयुक्त रूपमा श्रद्धाञ्जली अर्पण गरिएको आयोजकले बताएका छन् ।
सहभागीहरूले दिलिप महतोको बलिदानले अवैध उत्खननविरुद्धको आन्दोलनलाई नयाँ दिशा दिएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही र पर्यावरण संरक्षणका लागि प्रभावकारी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

