सानेपामा कांग्रेस नेता निधि र प्रदर्शनकारीबीच चर्काचर्की

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता विमलेन्द्र निधि र त्यहाँ प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ ।
मंगलबार कार्यालय परिसरमा प्रवेश गर्ने क्रममा केही कार्यकर्ताले निधिलाई अवरोध गरेपछि दुवै पक्षबीच भनाभन भएको हो । सो क्रममा भएको घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा भइरहेको छ ।
भिडिओमा नेता निधिले प्रदर्शनकारीतर्फ इशारा गर्दै, ‘को हो त्यो मान्छे ? ए को हो ? कांग्रेसी होइन यो’ भनेको सुनिन्छ । त्यस्तै, प्रदर्शनकारी समूहबाट पनि निधितर्फ प्रश्न र नाराबाजी गरिएको आवाज भिडिओमा समेटिएको छ । निधि कार्यालयतर्फ प्रवेश गरेपछि होहल्ला अझ चर्किएको देखिन्छ ।
यस घटनापछि विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले भने आफूहरूका तर्फबाट सानेपा घेराउ गर्ने कुनै औपचारिक कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘कसैले व्यक्तिगत रूपमा स्वस्फूर्त रूपमा गरेको गतिविधि अलग कुरा हुन सक्छ । तर, विशेष महाधिवेशन पहल गर्ने पक्षको तर्फबाट कुनै कार्यक्रम तय गरिएको थिएन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

