धनुषामा सर्वपक्षीय सहमति : सामाजिक सद्भाव कायम गर्न सबैको साझा प्रतिबद्धता

जनकपुरधाम, २२ पुष । जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा धनुषा जिल्लामा सामाजिक सद्भाव, आपसी भाइचारा र शान्ति कायम गर्ने उद्देश्यले सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।
छलफलमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, हिन्दू–मुस्लिम समुदायका धार्मिक अगुवा, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा पछिल्लो समय देखिएका सामाजिक तथा धार्मिक संवेदनशील विषयहरू, सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, भ्रामक सूचनाका कारण उत्पन्न हुनसक्ने द्वन्द्व र त्यसले समाजमा पार्न सक्ने नकारात्मक प्रभावबारे गम्भीर रूपमा चर्चा गरिएको थियो ।
छलफलमा सहभागी वक्ताहरूले धनुषा बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक जिल्ला भएकाले आपसी सहिष्णुता, सम्मान र संवाद नै सामाजिक एकताको मूल आधार भएको बताएका छन् । कुनै पनि बहानामा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि अस्वीकार्य हुनेमा सबै पक्ष एकमत देखिएका थिए ।
राजनीतिक दलका प्रतिनिधिहरूले राजनीतिक मतभेद भए पनि सामाजिक शान्ति र सद्भावका विषयमा साझा जिम्मेवारी हुने उल्लेख गर्दै उत्तेजक अभिव्यक्ति र गतिविधिबाट टाढा रहने प्रतिबद्धता जनाए । नागरिक समाजका अगुवाहरूले समुदायस्तरमै सचेतना फैलाउने, युवालाई सकारात्मक दिशामा अघि बढाउने र आपसी संवादलाई निरन्तरता दिने आवश्यकता औंल्याए ।
त्यसैगरी, हिन्दू तथा मुस्लिम धर्मगुरुहरूले धर्मको नाममा घृणा फैलाउने कार्य धर्मकै मूल मर्मविपरीत हुने स्पष्ट पार्दै धार्मिक सहिष्णुता र आपसी सम्मानको सन्देश आफ्ना अनुयायीहरूबीच पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले कुनै पनि गलत सूचना वा अफवाहप्रति संयमित रहन र सत्यता पुष्टि नगरी प्रतिक्रिया नदिन आग्रह गरेका छन् ।
पत्रकारहरूले तथ्यपरक, जिम्मेवार र सन्तुलित समाचार सम्प्रेषणमार्फत समाजमा शान्ति र सद्भाव कायम गर्न मिडियाको भूमिकाबारे धारणा राखे । सुरक्षा निकायका प्रतिनिधिहरूले शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिइने र सामाजिक सद्भाव बिगार्ने प्रयास भए कानुनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनी दिए ।
छलफलको निष्कर्षमा सहभागी सबै पक्षले आफ्नो–आफ्नो क्षेत्र र जिम्मेवारीबाट सामाजिक सद्भाव कायम गर्न सक्रिय पहल गर्ने, संवाद र सहकार्यलाई प्राथमिकता दिने तथा कुनै पनि प्रकारको विभाजनकारी गतिविधिको विरोध गर्ने सहमति गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

