बारामा प्रहरीको पेस्तोल हरायो, मधेश प्रदेश प्रहरीभित्रै व्यापक छानबिन

बारा, १९ पुष । बारामा कार्यरत नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी हतियार हराएको घटनाले मधेश प्रदेश प्रहरी संगठनभित्र तरङ्ग ल्याएको छ ।
इलाका प्रहरी कार्यालय कबहीका प्रमुखसमेत रहेका प्रहरी नायब निरीक्षक सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल रहस्यमय रूपमा बेपत्ता भएपछि घटनाको गम्भीर छानबिन सुरु गरिएको छ ।
घटना बाहिर आएलगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले इप्रका कबहीमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरी कर्मचारीलाई तानेर प्रदेश कार्यालयमा उपस्थित गराएको छ । घटनाको अनुसन्धान र सोधपुछका लागि सबैलाई जनकपुर बोलाइएको र कबहीमा भने वैकल्पिक प्रहरी टोली खटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटना गत पुष ११ गतेको भएको बताइएको छ । सई मिश्रको साथबाट सरकारी पेस्तोल हराएको जानकारी प्राप्त भएपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेषराज रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
पुष १५ गते गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन पूरा गरेपछि थप अनुसन्धानका लागि त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई प्रदेश कार्यालयमा झिकाइएको हो ।
प्रारम्भिक बयानका क्रममा सई मिश्रले राति गस्तीमा निस्किएको बेला पेस्तोल हराएको बताएका छन् । तर, उनले अर्को बयानमा ब्यारेकबाटै हतियार हराएको दाबी गरेपछि घटनाको विवरण अस्पष्ट र शंकास्पद बनेको छ । बयानमा देखिएको असंगतिका कारण छानबिन समितिले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ ।
छानबिन समितिका संयोजक एसपी भेषराज रिजालका अनुसार घटनासँग सम्बन्धित सबै प्रहरी कर्मचारीलाई अलग अलग राखेर सोधपुछ सुरु गरिएको छ । ‘त्यस समयमा इप्रकामा ड्युटीमा रहेका सबै प्रहरीलाई शुक्रबार दिउँसो प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ,’ उनले भने, ‘सबै कोणबाट अनुसन्धान भइरहेको छ । दोषी देखिने जोसुकै भए पनि कानुनी र विभागीय कारबाही हुन्छ ।’
यसैबीच, प्रहरी स्रोतले ड्युटीका क्रममा सीमावर्ती क्षेत्रमा सक्रिय तस्कर समूहले प्रहरीको हतियार खोसेर लगेको हुन सक्ने आशङ्कासमेत गरेको छ । बाराको सीमा क्षेत्र आसपास तस्करी गतिविधि सक्रिय रहने भएकाले लुटपाटको सम्भावनालाई पनि अनुसन्धानको दायरामा राखिएको स्रोतको भनाइ छ । तर, यस विषयमा प्रदेश प्रहरीले आधिकारिक पुष्टि भने गरेको छैन ।
सरकारी हतियार जस्तो संवेदनशील सामग्री नै सुरक्षित नरहनुले प्रहरीको आन्तरिक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । मधेश प्रदेश प्रहरीले घटनालाई हल्का रूपमा नलिइएको स्पष्ट पार्दै अनुसन्धान निष्कर्षमा पुगेपछि दोषीमाथि कडा विभागीय तथा कानुनी कारबाही गरिने जनाएको छ ।
सरकारी हतियार हराउनेजस्तो घटनाले आम नागरिकको सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले सत्यतथ्य बाहिर ल्याउन प्रहरीले उच्च प्राथमिकताका साथ छानबिन अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

