जनकपुरधाम, १६ पुष । धनुषा प्रहरीले प्रतिबन्धित लागु औषध र स्रोत नखुलेको रकमसहितको अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले घटनाको तथ्याङ्कसहित सबै विवरण प्रस्तुत गरेका हुन् ।

गत मंसिर २३ गते बिहान जनकपुरधाम उपमहानगरपालिक–१६ हुलाकी सडक खण्डमा अशोक कुमार साहको मोटरसाइकलमा ६.११ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । सुभाष यादव र पुनित कुमार यादवले अशोक कुमारलाई फसाउने नियतले लागु औषध राखेको प्रारम्भिक अनुसन्धानले पत्ता लागेको थियो । यस घटनामा संलग्न अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन् । घटनामा लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार ७–१० वर्ष कैद र ५ हजार देखि २५ हजारसम्म जरिवाना हुन सक्ने प्रावधान लागू हुने प्रहरीले जनाएको छ ।

त्यस्तै, मधेश प्रदेश प्रहरी कार्यालय र धनुषा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पुष १४ गते रञ्जित कुमार साहको कोठाबाट स्रोत नखुलेको नगद १० लाख ३ हजार ८०५ रुपैयाँ, तीन थान मोबाइल, पैसा गन्ने मेसिन र स्कुटी बरामद गरेको थियो । प्रहरीले उक्त रकम र उपकरणहरूबाट वित्तीय अपराधको अनुसन्धान भइरहेको र कानूनी कारबाही अघि बढाइने जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार हुण्डी कारोबारसम्बन्धी प्रावधान लागू हुने जनाइएको छ ।

प्रहरी उपरीक्षक कुँवरले सर्वसाधारणलाई सचेत रहन, रेमिट्यान्स वा अन्य वित्तीय कारोबार गर्दा अनावश्यक कागजात नदिने र शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरे ।

प्रहरीले थप अनुसन्धान जारी राखेको र पक्राउ परेकालाई कानूनी प्रावधान अनुसार कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।