जनकपुरधाम, १६ पुष । सर्वसाधारणको नाममा डिजिटल वालेट सञ्चालन गरी ठगी गर्ने संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका व्यक्तिहरूले आफन्तका नाममा पठाएको रेमिट्यान्स रकम झिक्न आएका सेवाग्राही महिलालाई झुक्याएर नागरिकताको प्रतिलिपी र फोटो संकलन गरी त्यसको दुरुपयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार रेमिट्यान्स झिक्न थप कागजात आवश्यक पर्ने बहानामा फोटो खिची अनधिकृत रूपमा डिजिटल वालेट/एकाउन्ट खोल्ने र ती एकाउन्टहरू ठगी गर्ने समूहलाई बिक्री–वितरण गरिएको थियो । सूचनाको आधारमा खटिएको विशेष टोलीले सूक्ष्म अनुसन्धानपछि धनुषा जिल्लाका विभिन्न स्थानबाट गिरोहका मुख्य सदस्यसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित ‘मामा भान्जा ट्रेडर्स’ (रेमिट्यान्स काउन्टर) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, दीपशिखा मोबाइल पसलका सञ्चालक सन्तोष मण्डल, धनौजी–२ का साधु राम, जनकपुरधाम शिवचोकमा डेरा गरी बस्ने बलराम मण्डल, धनौजी–२ का रूपेश कुमार साह र निक्की कुमार राम रहेका छन् ।

अनुसन्धानका अनुसार रेमिट्यान्स काउन्टरका सञ्चालक भुजेलले सेवाग्राहीको कागजात दुरुपयोग गरी डिजिटल एकाउन्ट खोल्न मोबाइल पसल सञ्चालक मण्डललाई प्रति एकाउन्ट १५ सयदेखि २ हजार रुपैयाँमा विवरण उपलब्ध गराउने गरेका थिए । मोबाइल पसलबाट भने एउटै व्यक्तिको नाममा मागभन्दा बढी सिम दर्ता गरी ती सिममार्फत डिजिटल एकाउन्ट खोल्ने र साधु रामजस्ता ठग समूहलाई ६ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको खुलेको छ ।

साधु रामले ती एकाउन्ट आफ्नै मोबाइलमा लगइन गरी ठगी गर्ने अन्य व्यक्तिहरूलाई ‘ट्रान्सफर कोड’ पठाउने, ठगीबाट आएको रकम सोही एकाउन्टमा मगाई कमिसन लिएर बाँकी रकम वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । अर्कातर्फ, सामाजिक सञ्जालमार्फत नक्कली प्रोफाइल बनाएर लत्ताकपडा, फर्निचर, मोटरसाइकललगायतका फोटो–भिडियो पोस्ट गरी सर्वसाधारणलाई प्रलोभनमा पार्ने काम रूपेश साह र निक्की रामले गरेको खुलासा भएको छ ।

प्रहरीले गिरोहबाट १९ थान मोबाइल, ४ थान ल्यापटप, १ थान ट्याब, ठगीमा प्रयोग भएका २० थान सिम, सिम कभर ५५ थान र ३ थान इन्टरनेट राउटर बरामद गरेको छ । अनुसन्धानमा विभिन्न व्यक्तिका नाममा खोलिएका डिजिटल एकाउन्टमार्फत हालसम्म ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको एसपी कुँवरले बताए । धारापानी क्षेत्रका २९ जनाको नाममा खोलिएका एकाउन्टमा करिब ४ लाख रुपैयाँ हाल ‘ब्लक’ अवस्थामा रहेकोसमेत खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध हालसम्म ३ जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । घटनामा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, आपराधिक लाभ (एक्सटर्सन), बैंक तथा वित्तीय कारोबारसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐनअन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । कसुर प्रमाणित भए सात वर्षसम्म कैद, जरिवाना तथा बिगो जफतसहित पीडितलाई क्षतिपूर्ति भराउने कानुनी प्रावधान लागू हुन सक्ने बताइएको छ ।

प्रहरीले सर्वसाधारणलाई रेमिट्यान्स झिक्दा वा सिम/डिजिटल सेवा लिँदा कागजात दुरुपयोग हुन सक्ने भन्दै सचेत रहन, अनावश्यक फोटो–कागजात नदिन र शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन आग्रह गरेको छ ।