जनकपुरधाम, १६ पुष । बाक्लो हुस्सु र शीतलहरका कारण मौसममा अपेक्षित सुधार नआएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरूमा जाडो बिदा थप गरेको छ ।

उपमहानगरपालिकाले पुनः सूचना जारी गर्दै पुष १७ देखि १८ गतेसम्म विद्यालयको पठनपाठन बन्द रहने जनाएको हो ।

नगर कार्यपालिकाको कार्यालय जनकपुरधामद्वारा जारी सूचनाअनुसार जाडो बिदाबाट कट्टा हुने गरी उक्त अवधिमा प्रशासनिक कार्य बाहेक विद्यालयको पठनपाठन स्थगित गरिएको छ ।

लगातार चिसो, बाक्लो कुहिरो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढेपछि थप बिदा दिनुपर्ने अवस्था आएको उपमहानगरपालिकाले जनाएको छ ।

सूचनामा पुष २० गतेदेखि भने प्रशासनिक कार्यसहित विद्यालयको पठनपाठन पूर्ववत् रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ । उक्त निर्णय जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूमा लागू हुने जनाइएको छ ।

केही दिनयता तराई मधेशमा चिसो अत्यधिक बढ्दै गएको छ । बिहान र बेलुका बाक्लो कुहिरो लाग्ने, दिनभर चिसो हावा चल्ने अवस्थाले जनजीवन कष्टकर बनेको छ । विशेषगरी साना बालबालिका, वृद्ध र दीर्घरोगीहरू बढी प्रभावित भइरहेका छन् ।

मौसम अझै केही दिन चिसो रहने पूर्वानुमान रहेकाले उपमहानगरपालिकाले अवस्थाको निरन्तर मूल्यांकन गर्दै आवश्यक निर्णय लिने जनाएको छ ।